पार्टीको यात्रामा प्रधानमन्त्री ओलीको दिन समाप्त

राजनीति
SHARE
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्ताव रोक्न असफल भएका छन्। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका ओलीले मंगलबार बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव रोक्न खोज्दा असफल भएका हुन्।

गत भदौ २६ गतेको स्थायी समितिको निर्णय लत्याएर अघि बढ्न खोजेपछि प्रधानमन्त्री ओली राष्ट्रिय राजनीति र पार्टी जीवनमा निरन्तर ओरालो यात्रामा छन्। ओली प्रधानमन्त्री हुने बेला उनीप्रति जुन विश्वास थियो, नागरिकको जुन भरोसा थियो। विकास र समृद्धिको जुुन अभिलासा थियो, त्यो निरन्तर खस्किएको मात्र होइन, नेपालका जननिर्वाचित प्रधानमन्त्रीमध्ये ओली सबैभन्दा कमजोर र कार्यसम्पादनमा असक्षम देखिएका छन्।

सरकारका दर्जनौं भ्रष्टाचार काण्डले सरकार छवि गिरेको छ। रअ प्रमुख सामन्त गोयलको नेपाल भ्रमणसम्म आउँदा उनको राष्ट्रवादी छवि पनि ओरालो लागिरहेको छ। लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर नेपालको राजनीतिक नक्शा जारी गरेपछि जोगिएको साख भारतीय खुफियाहरुसँगको निरन्तर गोप्य वार्ताले फेरि तीव्र ओरालो लागिरहेको छ। त्यसमाथि कुटनीतिक मामिलामा उनका अपरिपक्व अभिव्यक्ति थप जिम्मेवार बन्दै गएका छन्।

पार्टीभित्र सबैलाई पेलेर जाने उनको रणनीति मंगलबारको बैठकसम्म आइपुग्दा असफलसिद्ध भइसकेको छ। उनको कार्यशैलीका आलोचकहरु त विपक्षमै थिए। तर, आफ्ना भन्नेहरु पनि दिक्दारी मानिरहेका छन्। ओली कसैका कुरा सुन्दैनन्, आफ्नाहरुको सुझाव पनि उनले जरुरी ठान्दैनन्। तर, घटनाक्रमले ओलीका कदमहरु आत्मघाती सावित गरिरहेका छन्।

आफू नै ब्रह्म ठान्ने उनको प्रवृत्तिले ओली एक्लिएका मात्र छैनन्। बद्नामित र निरन्तर ओरालो लागिरहेका छन्। संकटका बेला प्रधानमन्त्रीको प्राधिकार प्रयोग गर्छु भन्दै संसद बिघटनको चेतावानी दिइरहेका ओलीमाथि असंवैधानिक कदम आत्मघाती हुने आफ्नैले सुझाएका छन्। यसले पनि उनी थप प्रतिरक्षात्मक बन्दै गएका छन्। आफ्नाहरुले उनलाई जसरी उत्साहित गरिरहेका छन्, त्यो पनि ओली शक्तिको बुई चढेर आफ्नो दुनो सोझ्याउने निहितार्थमा केन्द्रित देखिन्छ।

कार्तिक २८ गते सहमतिमा केन्द्रीय समितिको बैठक बोलाउन बाध्य ओलीले मंसीर १३ मा प्रचण्डविरुद्ध जवाफी प्रस्ताव प्रस्तुत गरेपछि उनी मैदानमा भित्रिएका छन्। मैदानमा छिरिसकेपछि अब आफू हार्दा खेलको नियम मान्दिनँ भन्ने राजनीतिक, नैतिक र वैधानिक अधिकार उनीसँग रहने छैन। त्यसमाथि सहमतिमै स्थायी समिति र केन्द्रीय समितिका बैठक आव्हान भइसकेको परिस्थितिमा ओली भाग्न मिल्ने ठाउँ देखिँदैन।

मंगलबार नेकपाको सचिवालय बैठकमा दुवै अध्यक्षको प्रस्ताव छलफलका लागि प्रस्तुत भएपछि बोल्ने क्रम शुरु भएको थियो। ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्नका लागि योग्य नभएको भन्दै रोक्न प्रस्ताव राखेका थिए। उनले प्रचण्डले बोल्दा बोल्दै पनि प्रतिवाद गरेका थिए। तर, उक्त प्रस्ताव छलफलमा गइसकेको भन्दै अधिकांश सचिवालय सदस्यले ओलीको प्रस्ताव अस्वीकृत गरिदिएका थिए।

प्रचण्डको आफूमाथि गम्भीर आरोपसहितको प्रस्ताव रोक्न नसकेपछि ओलीमाथि संकट बढेको छ। उनले छलफलमै अगाडि नबढाउन खोजे पनि अल्पमतमा परेपछि प्रचण्डको प्रस्तावको पक्षमा बलियो मत देखिएको छ। यसले ओलीमाथि चुनौती थपिदै गएको छ। बहुमत–अल्पमतको प्रक्रियाबाट घटनाक्रम अघि बढेपछि अब ओलीको राजनीतिक भविष्य र इतिहास नै संकटमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *